वीरगंज | चार दशकदेखि वीरगञ्जमा निरन्तर पत्रकारिता गर्दै आएका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको बिहीवार अपराह्न निधन भएको छ। मस्तिष्कघातका कारण उनको निधन भएको हो। १३ भदौमा वीरगञ्जको घण्टाघर क्षेत्रमा पैदल हिँडिरहेको अवस्थामा रक्तचाप बढेर बेहोस भएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो।
त्यहाँका चिकित्सकहरूले मस्तिष्कघात भएको जानकारी दिएपछि उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो, जहाँ उपचारको क्रममा उनको निधन भयो। नौबिसे पुख्र्यौली घर भएका पाण्डे पछिल्लो समय बाराको डुमरवानामा रहेर सक्रिय पत्रकारिता गर्दै थिए। उनले ‘उत्थान साप्ताहिक’ पत्रिका सञ्चालन गर्दै आएका थिए र पर्सा तथा बाराबाट प्रकाशित धेरै पत्रिकामा सम्पादकीय भूमिकामा रहेर काम गरेका थिए। नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघन नेपालले पाण्डेले नेपाली पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएको स्मरण गर्दै उनको निधनले ठूलो क्षति भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पाण्डेको निधनले पर्साको पत्रकारितामा एउटा महत्वपूर्ण स्तम्भ ढलेको प्रतिक्रिया दिएका छन्। उनले पाण्डेको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। सुदर्शनराज पाण्डेकी पत्नी दिवंगत बिन्दू पाण्डे पनि नेपाल पत्रकार महासंघ पर्साकी एकमात्र महिला सदस्य थिइन्, जसको निधन ५ असार २०७३ मा ५३ वर्षको उमेरमा भएको थियो।