वीरगञ्ज । मधेस प्रदेश सरकारको लापरबाहीका कारण वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनमा अवरोध आएको छ। भदौ १३ र १४ मा परीक्षा लिने तयारी गरिएको भए पनि प्रदेश सरकारको बदमासीका कारण अचानक परीक्षा रोकिएको छ।
यसले लाइसेन्स प्राप्त गर्नका लागि तयारीमा रहेका हजारौं सेवाग्राहीलाई ठूलो समस्या निम्त्याएको छ। वीरगञ्ज यातायात कार्यालयका एक कर्मचारीका अनुसार, केही व्यक्तिहरूको स्वार्थका कारण आम सेवाग्राही समस्यामा परेका छन्। यसका कारण लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अनिश्चित बनेको छ।
विदेश जान लागेका राम महतो नामक सेवाग्राहीले भने, “१० दिनपछि मेरो उडान छ, र परीक्षा स्थगित भएपछि म तनावमा छु। मैले विदेश जानका लागि रु. ५ लाख खर्च गरिसकेको छु, र अब मेरो पैसा डुब्न सक्छ।”
लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित हुँदा सेवाग्राहीहरूलाई सेवाबाट बन्चित रहनु परेको छ। कार्यालयमा दिनहुँ गुनासो र पीडा बढिरहेको छ। यस समस्याले हजारौं नागरिकलाई प्रभावित गरेको छ र सेवाग्राहीहरूले अब तत्काल समाधानको अपेक्षा राखिरहेका छन्।