वीरगंज | सत्तारूढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन दुई तिहाइ बहुमत जुटाउने प्रयास गरिरहेका छन्। दुवै दलले ३० गतेभित्र उपसभामुख रानाले राजीनामा नदिएमा संसदीय प्रक्रियाबाट उनलाई पदमुक्त गर्ने योजना बनाएका छन्।
कांग्रेस र एमालेले हालसम्म १८१ सांसदको समर्थन जुटाइसकेका छन्। कांग्रेसका ८८, एमालेका ७७, जसपा, लोसपा र नागरिक उन्मुक्तिका ४/४ सांसद तथा १ स्वतन्त्र सांसदले यो समर्थन दिएका छन्। तर, उपसभामुखलाई हटाउन आवश्यक १८३ मतको लागि अझै २ मतको अभाव छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा जनमत पार्टी र जसपा नेपालको समर्थन जुटाउन प्रयास गरिरहेका छन्।
यद्यपि, कांग्रेसभित्र मतभेद देखिएको छ। नेता शेखर कोइराला पक्षले फरक धारणा राखेकाले सभापति देउवा निर्णयमा पुग्न सकेका छैनन्। पार्टीले सबै सांसदहरूको हस्ताक्षर संकलन गरी उपसभामुखलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको छ।
संसद् बैठकमा पनि कांग्रेस सांसदहरूले उपसभामुखलाई राजीनामा दिन आग्रह गरेका थिए। तर, नेता कोइराला सिंगापुरमा उपचाररत भएकाले उनी असोज ६ गते मात्र फर्कने छन्।
जनमत पार्टीले कांग्रेस-एमालेको प्रस्ताव स्वीकार गरेको छैन भने जसपा नेपालले पनि स्पष्ट धारणा नबनाएकोले प्रस्तावमा ढिलाइ भइरहेको छ। एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले चार दिनभित्र राजीनामा नगरे संसदीय प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।
उपसभामुख रानालाई अमेरिकी दूतावासमा अन्तर्वार्ता मिलाउने पत्रसम्बन्धी विवादले यस विषयलाई थप पेचिलो बनाएको छ। संविधानको धारा ९१ अनुसार, दुई तिहाइ बहुमतले उपसभामुखलाई पदमुक्त गर्न सकिने प्रावधान छ।