वीरगंज | तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को नेतृत्व उपरथी कमल विक्रम शाहले पुनः सम्हाल्नुभएको छ। सहायक रथी विकास पोखरेलको अवकाशसँगै शाहले यो राष्ट्रिय महत्वको योजनाको जिम्मेवारी लिनुभएको हो। शाहले यसअघि पनि २०७९ असोजदेखि २०८० पुससम्म फास्ट ट्रयाक प्रमुखको रूपमा काम गरिसक्नुभएको छ।
उपरथी शाह नेपाली सेनाको विकास निर्माण कार्यदलको इन्जिनियरिङ विभागको प्रमुखसमेत हुनुहुन्छ। २०८० पुसमा पोखरेललाई फास्ट ट्रयाकको जिम्मेवारी हस्तान्तरण गरेपछि, ८ महिनापछि पुनः शाहले यो जिम्मेवारी सम्हाल्नुभएको हो।
सहायक रथी विकास पोखरेलले विकास निर्माण निर्देशनालय प्रमुखको रूपमा फास्ट ट्रयाकको नेतृत्व गरिरहनु भएको थियो। तर, उहाँको पदावधि समाप्त भएसँगै सोमबारदेखि घर बिदामा बस्नुभएको छ। उहाँ असोज ७ गते औपचारिक रूपमा अवकाश प्राप्त गर्नुहुनेछ।
नेपाली सेनामा प्रधानसेनापतिले चाहेमा म्याद थप गर्ने व्यवस्था भए पनि, यस पटक पोखरेलको म्याद थप नगरी उहाँलाई अवकाश दिइएको हो। यदि म्याद थप भएको भए, पोखरेलले २०८४ सालसम्म उमेर हदका कारण सेवा गर्न सक्नुहुने थियो।
फास्ट ट्रयाक नेपालका लागि अत्यन्त महत्वपूर्ण आयोजना भएकोले शाहलाई पुनः नेतृत्व सुम्पिएको नेपाली सेनाले जनाएको छ। फास्ट ट्रयाक नेपाललाई आर्थिक रूपमा फाइदा पुर्याउने र काठमाडौँदेखि तराईको दूरी घटाउने एक महत्वपूर्ण योजना हो। यो आयोजनाले देशको आर्थिक र भौतिक पूर्वाधार विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ।
उपरथी शाहको नेतृत्वमा यसअघि पनि द्रुतमार्गको निर्माण कार्यमा प्रगति देखिएको थियो। अब पुनः शाहको जिम्मेवारीसँगै, नेपाली सेना र सरोकारवाला निकायहरूले आयोजनाको गति तीव्र हुने विश्वास गरेका छन्।
फास्ट ट्रयाकको निर्माण सम्पन्न भएपछि, यातायात र ढुवानीमा सुधार हुँदै नेपालको आर्थिक विकासमा ठुलो टेवा पुग्नेछ।