वीरगंज | आईसीसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टोलीलाई मंगलबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो।
टोलीमा विकेटकिपर अर्जुन साउद र बलर रिजन ढकालको पुनरागमन भएको छ भने देव खनाल ट्राभल रिजर्भ खेलाडीका रूपमा समावेश भएका छन्। नेपाली टोलीले त्रिकोणात्मक शृंखलामा क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
क्यानडासँग नेपालले पहिलो खेल भदौ ३१ गते (सेप्टेम्बर १६) मा खेल्नेछ। क्यानले जारी गरेको तालिका अनुसार, दोस्रो खेल ओमानसँग असोज २ गते (सेप्टेम्बर १८) मा हुनेछ। नेपालले असोज ६ गते (सेप्टेम्बर २२) मा पुनः क्यानडासँग खेल्नेछ भने अन्तिम खेल ओमानसँग असोज ८ गते (सेप्टेम्बर २४) मा हुनेछ। यस शृंखलाले नेपाललाई विश्वकप छनोटमा अघिको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।