वीरगंज | बारा प्रहरीले २ सय ४० किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका-३ निवासी २६ वर्षीय ट्रक चालक विज्ञान तिमल्सिना र १८ वर्षीय सह-चालक बाबु काजी परियार रहेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा अमलेखगञ्जमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ट्रक रोकी चेकजाँच गर्दा ट्रकको फल्स बटमभित्र लुकाइएका १५ पोकामा २ सय ४० किलो गाँजा बरामद गरेको हो।
प्रहरीले ट्रक र दुवै जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार, पक्राउ परेका दुवैजनालाई लागुऔषध मुद्दामा कारबाही अघि बढाइएको छ। ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र गाँजा लुकाएर ओसारपसार गरिएको थियो।
प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीकार्य पनि तीव्र बनाएको छ। लागुऔषध ओसारपसार रोक्नका लागि विशेष सूचनाका आधारमा विभिन्न स्थानहरूमा चेकजाँचलाई कडा पारिएको सापकोटाले बताएका छन्।