वीरगंज | बारा जिल्लाका ११० वटा कृषि सहकारी संस्थालाई साना किसान कृषि सहकारी संघ लिमिटेड बाराले ३५ दिने सूचना जारी गरेको छ। लामो समयदेखि सम्पर्कमा नआएका र सहकारी गतिविधिमा सहभागी नभएका संस्थाहरूलाई संघले सदस्यता खारेजको चेतावनी दिएको हो।
संघको बैठकले ३ देखि ५ वर्षसम्म नवीकरण नगरेका सहकारीहरूलाई ३५ दिनभित्र सम्पर्कमा आउन भनिएको छ। अध्यक्ष मिश्रिलाल सहनीका अनुसार सम्पर्कमा नआएका सहकारीहरूको सदस्यता खारेज गरी, उनीहरूको शेयर संघको आम्दानीमा परिणत गरिनेछ।
संघमा ११० सहकारी संस्थाहरू सम्पर्कमा नआएको कारण संघले उनीहरूलाई सूचित गरेको हो।
संघका अध्यक्ष मिश्रिलाल सहनीले लामो समयदेखि कुनै कारोबार नगरेका र वार्षिक साधारण सभामा सहभागिता नजनाएका संस्थाहरूले संघको सञ्चालनमा समस्या उत्पन्न गराएको बताएका छन्। यस्ता सहकारी संस्थाहरूका कारण संघका निर्णय प्रक्रियामा कोरम नपुग्ने अवस्था आएको पनि उनले स्पष्ट पारे।
संघले ३५ दिनभित्र सम्पर्क नगरेको खण्डमा ती संस्थाहरूको सदस्यता पूर्ण रूपमा खारेज गर्ने र उनीहरूका शेयर संघको आम्दानीमा परिणत गर्ने निर्णय गरेको छ। संघका प्रबन्धक नवीन चौधरीले जमुनीमाई कृषि सहकारी संस्था लि. खोपवा, उत्पादनशील कृषि सहकारी संस्था लि. निजगढ, औराह पशुपालनन कृषि सहकारी संस्था लि. जीतपुरसिमरा ४ बारा लगायत ११० सहकारीहरू सम्पर्कमा नआएको जानकारी दिए।
संघमा वार्षिक १ हजार ५ रुपैयाँ नवीकरण शुल्क निर्धारण गरिएको छ भने संघका कुल १५७ सहकारी संस्थाहरू सदस्य रहेको बताइएको छ।