वीरगंज । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको १११औँ जन्म जयन्ती नेपाली कांग्रेस पर्साले बि.पी. विचार गोष्ठीको आयोजना गरी भव्य रूपमा मनाएको छ। उक्त कार्यक्रम नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेताहरू, कार्यकर्ताहरू, र पार्टी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विचार गोष्ठीमा प्रमुख वक्ता विश्लेषक तथा पत्रकार चन्द्रकिशोर झाले बि.पी. कोइरालाको जीवन, राजनीतिक संघर्ष, र साहित्यिक योगदानमाथि चर्चा गरे। उनले बि.पी.को राजनीतिक विचारधाराले नेपालमा प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै, बि.पी.लाई सृजनशील नेता र समाज सुधारकको रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए। साथै, उनले बि.पी.को साहित्यिक योगदानको महत्त्वलाई पनि स्मरण गराए।
कार्यक्रममा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बि.पी.को आदर्श र विचारधाराले वर्तमान समाजलाई सही मार्गदर्शन दिने कुरा व्यक्त गरे। नेपाली कांग्रेसका नेता ओमप्रकाश शर्माले बि.पी.लाई प्रजातान्त्रिक मूल्य र मान्यताका प्रतीकका रूपमा चर्चा गरे।
सो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम, कोषाध्यक्ष प्रेम थापा, सहसचिव नवीन सिंह, मदन यादव, नेता ओमप्रकाश उपाध्याय, श्याम पोख्रेल, शान्ति कार्की, रामरुप कुर्मी, किसान संघ पर्साका अध्यक्ष राजेश तिवारी, महिला संघकी किरण शर्मा, तरुण दलका अध्यक्ष विकास तिवारी, र नेविसंघ पर्साका अध्यक्ष रमेश यादवलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको जानकारी उपप्रमुख इम्तियाज आलमका प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए।