बारा | सिकिन्द्र साह | बारा जिल्ला, आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ हरनहिया लौकाहा चौकमा रहेको शिव महादेव सेन्ट्रल अस्पतालले बिगत एक महिनादेखि बारा र रौतहट जिल्लाको ग्रामीण भेगमा निशुल्क औषधि र स्वास्थ्य जाँच सेवा प्रदान गर्दै आएको छ। अस्पतालका सञ्चालक बिमल प्रसाद साहका अनुसार, अस्पतालले पूर्ण टोलीको साथमा निशुल्क औषधि वितरण गर्दै सेवा उपलब्ध गराइरहेको छ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, देवापुर टेटामा २०० भन्दा बढी गरीब, दलित, र असहाय व्यक्तिहरूलाई निशुल्क स्वास्थ्य जाँच र औषधि वितरण गरिएको थियो। फिजिसियन डाक्टर सबिना कटुवालका अनुसार, ग्रामीण क्षेत्रमा प्रायः महिलाहरू विभिन्न रोगबाट ग्रस्त भेटिएका छन्। गर्भावस्थामा पोषणयुक्त खानाको अभावले गर्दा कुपोषित बच्चा जन्मिनु र आमाहरू रोगी हुनु सामान्य कुरा भएको उनले बताइन्।
उपचारको अभावले स-साना रोगहरू समयमै निदान नगरिँदा ठूला रोगहरूको सामना गर्नुपर्ने अवस्था देखिएको छ। डा. कटुवालले ग्रामीण भेगमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र समयमै उपचार गराउने आवश्यकताको सन्देश पनि दिनु आवश्यक भएको बताइन्।