वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरगञ्जको लिंकरोडस्थित होटल भानु प्लाजामा बसिरहेका भारतको राजस्थान निवासी बाबुलाल र उनका साथीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक सुबास भट्टका अनुसार शंकास्पद गतिविधि भएको सूचना पाएपछि होटलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुबैजनासँग अहिले सोधपुछ र अनुसन्धान भइरहेको छ।
भट्टले भने, “हालसम्म लागुऔषध कारोबारमा संलग्न भएको ठोस प्रमाण भेटिएको छैन, तर प्रारम्भिक अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको हो।” प्रहरीले उनीहरूको गतिविधि र पृष्ठभूमिबारे थप जानकारी संकलन गरिरहेको छ।
वीरगञ्ज सीमा क्षेत्रमा यस प्रकारका शंकास्पद गतिविधिहरूको बढ्दो घटनालाई ध्यानमा राख्दै, प्रहरीले निगरानी कडा बनाएको बताएको छ।