रक्सौल । मोतिहारी प्रहरीले भारत-नेपाल सीमाबाट नक्कली नोटको कारोबारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट दुई लाख भारतीय नक्कली नोट बरामद गरिएको छ। तस्करीमा संलग्न मुख्य अभियुक्त नजरे सद्दामको पाकिस्तानसँग सम्बन्ध रहेको आशंका गरिएको छ, जसको अनुसन्धान भइरहेको छ।
मोतिहारी एसपी कांतेश कुमार मिश्रले गुप्त सूचनाका आधारमा सद्दामसहित अन्य दुईजनालाई हरैया ओपी क्षेत्रमा पक्राउ गरिएको जानकारी दिए। नजरे सद्दाम नेपालबाट भारतमा नक्कली नोट तस्करी गरिरहेका थिए भन्ने सूचना प्रहरीले केही समयअघि नै पाएको थियो। प्रहरीले यस घटनालाई ठूलो सफलता मानेको छ।
प्रहरी र केन्द्रिय निकायहरूले अहिले पक्राउ परेकाहरूलाई अज्ञात स्थानमा राखेर सोधपुछ गरिरहेका छन्। अनुसन्धानको क्रममा नजरे सद्दामको पाकिस्तानसँगको तार जोडिएको पत्ता लागेको छ। नक्कली नोट तस्करीको यस गिरोहमा अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने आशंका गरिएको छ, र थप अनुसन्धान भइरहेको छ।
यसअघि पनि मोतिहारीको रक्सौल क्षेत्रमा नक्कली नोट कारोबारमा संलग्न असलम अंसारी पक्राउ परेका थिए। असलमलाई पक्राउ गर्नका लागि एनआईएले लामो समयदेखि खोजी गरिरहेको थियो र उनको टाउकोमा एक लाख रुपैयाँको इनाम थियो।
प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको छ, र नक्कली नोट कारोबारमा संलग्न समूहहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ।