वीरगंज | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले जितपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण अनुशासनहिंता देखिएकाले रद्द गरिएको बताएका छन्।
संसदीय समितिमा बोल्दै मन्त्री गुप्ताले काफ्लेलाई मन्त्रालयमा पटक–पटक बोलाउँदा पनि अनुपस्थित रहेकाले विदेश भ्रमण रद्द गरिएको स्पष्टीकरण दिए। उनका अनुसार काफ्ले केही दिनदेखि मन्त्रालयमा उपस्थित नभएपछि उक्त निर्णय लिइएको हो।
मन्त्री गुप्ताले काफ्लेलाई जीतपुरसिमराबाट सरुवा गर्ने प्रस्ताव गरे पनि उनले नमानेको र काठमाडौंमा बसेर पनि मन्त्रालयलाई नटेरेको आरोप लगाए। उनले भने, “हामीले मुद्दा पनि खेप्ने अनि विदेश पनि पठाउने? त्यसैले अन्तिम समयमा भ्रमण रोकेका हौं।”
काफ्ले अमेरिका जान मंगलबार भिसा प्राप्त गरेकी थिइन्। तर, मन्त्री गुप्ताले तत्काल भिसा रद्द गर्ने निर्णय गरेका थिए। काफ्लेसहित १२ जना कर्मचारीलाई ‘पब्लिक फिनान्सियल म्यानेजमेन्ट’ बिषयक ४ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन मनोनयन गरिएको थियो। तर, २ जनाको भिसा लाग्न नसकेको र काफ्लेको भ्रमण पनि रोकिएको छ।
मन्त्री गुप्ताले संसदीय समितिमा कर्मचारी अनुशासनको महत्त्वलाई जोड दिँदै मन्त्रालयको निर्देशन अवज्ञा गर्नेहरूको भ्रमण रद्द गर्ने निर्णय गरिएको बताए।