वीरगंज । हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागको अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर दक्षिणतिर अवस्थित छ, जसका कारण देशभर आंशिकदेखि साधारण बदली छ।
विभागको मौसम बुलेटिनअनुसार, कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी, कोसी र गण्डकी प्रदेशका एक-दुई स्थानमा बिहीबार बिहान भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोसी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। त्यस्तै, कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।