वीरगंज | सन् २०२४ को जनवरीदेखि अगस्तसम्म सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार आठ महिनाको अवधिमा कुल ७ लाख २० हजार ३३४ विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन्।
अगस्त महिनामा मात्रै ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ८।३ प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को यही महिनामा ६७ हजार १५३ पर्यटक भित्रिएका थिए भने यस वर्ष सोही अवधिमा ५ हजार ५६६ बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले विदेशी पर्यटकको आगमनमा वृद्धि भइरहेको जानकारी दिएका छन्। छिमेकी मुलुक भारत र चीनलक्षित प्रवर्द्धनात्मक कार्यक्रमहरूका कारण आगामी दिनमा थप पर्यटक आउने अपेक्षा गरिएको छ।
बोर्डको तथ्यांकअनुसार अगस्तमा नेपाल आउने पर्यटकहरूमा भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१, र बङ्गलादेशबाट ३ हजार ७७ जना रहेका छन्।
सन् २०२४ मा मार्चमा सबैभन्दा धेरै १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका थिए, जबकि जुलाईमा सबैभन्दा कम ६४ हजार ५९९ जनाले नेपाल भ्रमण गरेका थिए।
अप्रिल, जनवरी, फेब्रुअरी, मे र जुनमा पनि क्रमशः १ लाख ११ हजार ३७६, ७९ हजार १००, ९७ हजार ४२६, ९० हजार २११, र ७६ हजार ७३६ पर्यटक नेपाल आएका छन्।