बिरगंज | नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा रेशमकोठी उपशाखा, बिरगंजद्वारा बिहान शुभकामना आदानप्रदान कार्यक्रम र डेंगु रोग सम्बन्धित सचेतना पर्चा वितरण गरी समारोह गरियो। प्रमुख अतिथी वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्यायले बिरगंज-५ स्थित उपशाखा कार्यालयमा रेडक्रसका जन्मदाता जान हेनरी ड्युनाको तस्बिरमा फुलमाला र अबीर चढाई दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरे।
कार्यक्रममा सहभागी सबैले पनि ड्युनाको तस्बिरमा श्रद्धा व्यक्त गर्दै फुलमाला र अबीर अर्पण गरेका थिए। त्यसपछि उपशाखा कार्यालय बाहिरका सडकहरू, ६ नम्बर गेट चोक, र अन्य सार्वजनिक स्थानहरूमा यात्रु, मोटरसाइकल चालक, स्कूली विद्यार्थी, र अन्य सवारी साधनका सवारहरूलाई डेंगु रोगबारे सचेत गराउन पर्चाहरू वितरण गरियो।
कार्यक्रममा प्रमुख अतिथी उपाध्यायले जान हेनरी ड्युनाको मानवीय कार्यको चर्चा गर्दै रेडक्रसको स्थापना युद्धभूमिमा घाइतेहरुलाई उद्धार र रक्तसञ्चारको आवश्यकता पूरा गर्ने उद्देश्यले भएको बताए। उनले नेपालमा रेडक्रसको स्थापना भएदेखि नै एम्बुलेन्स सेवा, रक्तसञ्चार केन्द्र र अन्य सेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आइरहेकोमा गर्व व्यक्त गरे।
उपशाखाका सभापति श्री नारायण यादवको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सल्लाहकार सुरेन्द्र मिश्र, गौरी गुप्ता, सदस्यहरू भागवत चौधरी, श्रवण बहादुर रायमाझी, युवा संयोजक अभिलाष गुप्ता, र अन्य सहभागी थिए। कार्यक्रमको स्वागत मन्तव्य उपसभापति सुरेन्द्र कानुले गरे भने सहजीकरण सचिव लालबाबु सिंहले गरेका थिए।