वीरगंज | पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन बुधबार बिहान काठमाडौं आइपुग्ने भएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार पलेशासहितको नेपाली टीम बिहान ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ। विमानस्थलबाट उनीहरूलाई गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्याइनेछ।
पलेशाले गत शुक्रबार राति कास्य पदक जितेर नेपाललाई कुनै पनि ओलम्पिक खेलकुदमा पहिलो पटक पदक दिलाएकी हुन्। सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेशाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने निश्चित भइसकेको छ।
यो ऐतिहासिक उपलब्धिले पलेशा मात्र नभई सिङ्गो राष्ट्रलाई गौरवान्वित बनाएको छ। उनलाई सम्मानित गर्नका लागि आयोजित नगर परिक्रमा समारोहमा सहभागी हुन खेलकुद प्रेमीहरूलाई आग्रह गरिएको छ।