वीरगंज । रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानबिनमा सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरूले सामूहिक रूपमा माग गरेका छन्।
नेकपा माओवादी केन्द्र, जसपा नेपाल, र नेपाली कांग्रेसका नेताहरूले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिनका लागि पहल गरिदिन आग्रह गरेका हुन्। वडाअध्यक्ष यादवको शव भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै फेला परेको थियो। घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटना नभई हत्या भएको आशंका गर्दै अनुसन्धानको माग गरिएको छ।
ज्ञापनपत्रमा भदौ ८ गते साँझ शंकास्पद व्यक्तिहरूले यादवलाई बोलाएको, घटनास्थल र शवको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु नभएको, पोष्टमार्टम रिपोर्टले टाउको र छातीमा चोट देखाएको, मोटरसाइकलको हेल्मेट सुरक्षित राखिएको र स्टार्ट बन्द अवस्थामा फेला परेको जस्ता तथ्यहरू उल्लेख गर्दै हत्या भएको आशंका गरिएको छ।
शवको पोष्टमार्टमका लागि काठमाडौं लगिएपछि शंकास्पद व्यक्तिलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको घटनालाई पनि उजागर गरिएको छ। ज्ञापनपत्रमा, यी सबै परिस्थितिहरूलाई ध्यानमा राख्दै केन्द्रीय अनुसन्धान ब्यूरोबाट छानबिन गरिदिन आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले घटनालाई गम्भीर रूपमा लिएको र मधेस-तराई क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको बताउनुभयो। उहाँले निस्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो।
सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल, नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा. सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह लगायत परिवारका सदस्य सहभागी हुनुहुन्थ्यो।