वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको पर्सा जिल्ला कार्यसमितिले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बजारमा उपभोक्ताहरुले भोगिरहेका समस्यासम्बन्धी ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी भुसालले बजारमा भइरहेको अनियमितता नियन्त्रण गर्न कडा निर्देशन जारी गरेका छन्। मञ्चले उठाएका मुद्दाहरूलाई तुरुन्तै कार्यान्वयन गर्ने निर्णय गरिएको छ।
चाडपर्वको समयमा हुने मूल्यवृद्धि, म्याद नाघेका वस्तुको बिक्री, लेबलमा जानकारीको अस्पष्टता, गैरकानुनी मिसावट, र बिल-बिजकको प्रयोगजस्ता समस्याहरूप्रति लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको छ।
साथै, चाडपर्वको समयमा सवारी साधनको भाडामा हुने मूल्यवृद्धि नियन्त्रणका लागि सघन अनुगमन गर्ने, मासिक रूपमा बजार अनुगमनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने, र रोकिएका औषधि तथा वस्तुहरुको अनुगमनलाई प्रभावकारी बनाउने विषयहरूमा पनि निर्णय भएको छ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै गैरकानुनी क्रियाकलाप रोक्न सबैलाई सचेत गराउने निर्णय गरेको छ।
यो बैठक प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारी, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश कुमार सिंह, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख मुन्ना साह रौनियारसहित अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।