सिरहा। गोलबजार नगरपालिकामा हालै भएको कर वृद्धिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलबजार नगर कमिटीले ज्ञापनपत्र बुझाउँदै विरोध जनाएको छ। माओवादी केन्द्रले नगरपालिकाले कृषि प्रधान क्षेत्रमा कृषकहरूको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै यो कदमलाई जनविरोधी भनेको छ।
माओवादीले जारी गरेको विज्ञप्तिमा गोलबजार नगरपालिका कृषिमा निर्भर रहेको र कृषकहरूको हित विपरीत कर दरमा अत्यधिक वृद्धि गरिएको बताइएको छ। “कृषि क्षेत्रको विकासमा योगदान दिनुपर्ने बेला नगरपालिकाले उल्टै कृषकहरूलाई आर्थिक संकटमा धकेल्ने काम गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
माओवादी केन्द्रले सात दिनभित्र कर वृद्धि खारेज नगरे संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। साथै, नेता प्रवेश लामाले करको दायरा बढाएर जनतालाई शोषण गर्नु गलत भएको टिप्पणी गरेका छन्।
ज्ञापनपत्रमा भूमि वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढंगले गर्न, सिफारिस शुल्क सहजरसुलभ बनाउन, सूचना सरल र छिटो उपलब्ध गराउन, हाट बजार ठेक्का र असुलीमा पारदर्शिता अपनाउन, र निर्माणाधीन प्रमुख प्रशासकीय भवनको कामलाई तुरुन्त सुचारु गर्न माग गरिएको छ।
माओवादीले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्दै, विकास निर्माणमा पारदर्शिता र सुशासन कायम गर्न पनि जोड दिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा माओवादीले नगरपालिकाको जनविरोधी नीतिहरूको कडा आलोचना गरेको छ।