वीरगञ्ज । किरण आँखा अस्पतालले आफ्नो सेवा क्षेत्रलाई विस्तार गर्दै बाराको सिमरामा नयाँ क्लिनिक सञ्चालनमा ल्याएको छ। यस नयाँ क्लिनिकको उद्घाटन शनिबार जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले एक समारोहका बीच गरेका हुन्।
सिमरा र आसपासका क्षेत्रका नागरिकहरूको सुविधाका लागि खोलिएको यस क्लिनिकले स्थानीय बासिन्दाहरूलाई आँखा उपचारका लागि वीरगञ्जसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास लिइएको छ। नगर प्रमुख राजन पौडेलले उद्घाटन समारोहमा सर्वसाधारणलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्न क्लिनिकलाई अनुरोध गर्दै, यो नयाँ सेवा सिमराका नागरिकहरूको लागि अत्यन्तै लाभदायक हुने बताए।
अस्पतालका संचालक डा. अमर केयालले सिमरामा क्लिनिक स्थापना गर्नाले स्थानीय बासिन्दाहरूलाई आँखा सम्बन्धि सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्य रहेको बताए। उनका अनुसार, सिमराबाटै वीरगञ्जकै दक्ष चिकित्सकहरूको उपस्थितिमा उच्च गुणस्तरको आँखा उपचार सेवा प्रदान गरिने छ।
यो नयाँ सेवा विस्तारले सिमरा र आसपासका क्षेत्रका नागरिकहरूको लागि आँखा उपचारको पहुँच सजिलो बनाउने मात्र नभई, वीरगञ्ज जानुपर्ने बाध्यता पनि कम गर्नेछ। सिमरामा यो सेवा सञ्चालनमा आउनुले स्थानीय समुदायमा अत्यन्तै सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।