वीरगञ्ज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको आयोजनामा वीरगञ्जमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्जस्थित कलाशिक ब्याँकेटमा आयोजित उक्त कार्यक्रममा तीज पर्वको शुभकामना आदानप्रदान गर्दै विभिन्न वक्ताहरुले तीजको मौलिकता जोगाउनेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरुले तीज पर्व मनाउने परम्परागत शैलीमा आएको परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै मौलिकता र यसको महत्त्वलाई कायम राख्दै तीज मनाउनुपर्नेमा जोड दिए। उनीहरुका अनुसार, तीजको आधुनिकीकरणले यसको मौलिकतामा असर पारेको छ, जसलाई जोगाएर पर्वलाई मनाउनुपर्ने आवश्यक छ।
राष्ट्रिय दलित पत्रकार संघ पर्साको सदस्य एवं कार्यक्रम संयोजक संगीता दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव एवम् दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, महिला अधिकारकर्मी निभा सिंह, वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्य नितु राम, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, सल्लाहकार सुबाश राम लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन दलित महिला अधिकारकर्मी निला रामले गरेकी थिइन् भने स्वागत मन्तव्य राष्ट्रिय दलित पत्रकार संघ पर्साका उपाध्यक्ष सुरेश बादलले राखेका थिए।