वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले र विभिन्न वडा अध्यक्षहरूबिच बिहीबार कार्यालयमा विवाद उत्पन्न भएको छ । वडा अध्यक्षहरूलाई जानकारी नदिई कर्मचारीहरूको फाँट सरुवा र जिम्मेवारी हेरफेर गरेपछि विवाद सुरु भएको हो ।
वडा नम्बर १५ की वडा अध्यक्ष चयन गुरुङले जनप्रतिनिधिहरूसँग समन्वय नगरी कार्यालयको काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले अधिकृत काफ्लेलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्दा काफ्लेले गुरुङलाई नै सरुवा हुने चेतावनी दिएपछि स्थिति झन् तनावग्रस्त भयो ।
वडा अध्यक्षहरूले कार्यालयमा करिब ६ घण्टा लामो विवाद गरेका थिए । विवादले हात हालाहालको अवस्थासम्म पुग्दा सुरक्षा कर्मीको सहयोगमा अधिकृत काफ्ले कार्यकक्षबाट बाहिर निस्कनु परेको थियो । काफ्लेमाथि वडा अध्यक्षहरूले मनपरी तरिकाले सरुवा गरेको आरोप लगाएका छन् ।
वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलका अनुसार प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगर प्रमुख राजन पौडेलको निर्देशनमा एकलौटी रूपमा काम गर्दै आएकोले समस्या उत्पन्न भएको हो । उनले प्रशासकीय अधिकृतमाथि राजनीतिक प्रतिशोध साध्नका लागि काम गरेको आरोप पनि लगाए ।
जीतपुरसिमरा उपमहानगरपालिकामा पछिल्लो समय विवाद चुलिएको छ । असार महिनामा भएको नगर सभापछि एमाले र काँग्रेसका वडा अध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग असन्तुष्ट छन् । नगर सभामा नियमअनुसार प्रक्रिया नअपनाएको भन्दै उपप्रमुख भोला अधिकारीसहित कार्यपालिकाका सदस्यहरूले विरोध गरेपछि विवाद सुरु भएको थियो ।
यसै विवादकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गरेको थियो । तर, अदालतले निषेधाज्ञा जारी गरेपछि काफ्लेको सरुवा हाल रोकिएको छ । वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतबिचको यो विवादले उपमहानगरपालिकामा कार्यसम्पादनमा गम्भीर अवरोध आएको छ ।