वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शिक्षक दरबन्दी मिलानको प्रक्रिया पूरा गरेसँगै शिक्षकहरूको तोकिएका विद्यालयमा सरुवा प्रक्रिया सुरु गरेको छ। महानगरपालिकाले सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरी शिक्षकहरूलाई तोकिएको विद्यालयमा जान आग्रह गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले शिक्षकहरूलाई विद्यार्थीको हितका लागि तोकिएको स्थानमा गएर पठनपाठनमा सक्रिय हुन आग्रह गर्नुभएको छ। उहाँले शिक्षाको गुणस्तर सुधारमा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै, शिक्षकहरूको समस्या समाधानमा महानगरपालिकाले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख इम्तियाज आलमले स्थानीय सरकारको निर्देशन पालना गर्नु शिक्षकहरूको दायित्व भएको बताउनुभयो। यदि महानगरका कुनै कर्मचारीले शिक्षकहरूलाई अप्ठ्यारो पारेको खण्डमा, तिनलाई कारबाही गरी शिक्षकहरूको समस्या समाधान गर्ने आश्वासन पनि दिनुभयो।
नेपाल शिक्षक सङ्घका महानगर अध्यक्ष प्रदीप जयसवालले दरबन्दी मिलानको विरोध नगरेको स्पष्ट पार्दै, शिक्षकहरूलाई परेको समस्या मात्र सम्बोधन गर्नुपर्ने बताउनुभयो। प्रधानाध्यापक दयाकान्त झाले दरबन्दी मिलानको प्रक्रिया राम्रोसँग बुझ्न नसकिएको भन्दै महानगरपालिकासँग स्पष्टीकरण माग गर्नुभयो।
शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले दरबन्दी मिलान प्रक्रिया विद्यार्थी सङ्ख्या, आवश्यकता, र नगर शिक्षा समितिको निर्णयलाई ध्यानमा राखेर गरिएको बताउनुभयो। उहाँले पारदर्शिता कायम राख्न शिक्षक प्रतिनिधि र विज्ञहरूलाई समावेश गरिएको जानकारी दिँदै, शिक्षकहरूलाई तोकिएको विद्यालयमा गएर तलबी खाता खोल्ने प्रक्रियामा लाग्न आग्रह गर्नुभयो।
यस छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका पदाधिकारी, दरबन्दी मिलान कार्यदलका सदस्य, र सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।