वीरगंज | गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न सजिलो बनाउने क्रममा कम्पनीले च्यानल क्युआर कोडको सुरुवात गरेको छ । यो नयाँ फिचरसँग, प्रयोगकर्ताहरूले आफ्ना साथी, परिवार र फलोअर्सहरूसँग आफ्नो च्यानल सजिलै शेयर गर्न सक्छन् । यसका लागि अरू युट्युब प्रयोगकर्ताहरूलाई यस क्युआर कोडलाई स्क्यान गर्न मात्र आवश्यक पर्छ ।
च्यानल क्युआर कोड कसरी काम गर्छ ?
च्यानल शेयर गर्नको लागि यो क्युआर कोडलाई युट्युब प्रयोगकर्ताहरूले च्यानलको मुख्य पृष्ठबाट एक्सेस गर्न सक्नेछन् । यो क्युआर कोडलाई युट्युब प्रयोगकर्ताले सामाजिक सञ्जाल, मेसेजिङ एप्स र प्रिन्ट सामग्रीहरूमा समेत शेयर गर्न सक्छन् ।
जब कुनै अरू युट्युब प्रयोगकर्ताले फोनबाट यस शेयर गरिएको क्युआर कोडलाई स्क्यान गर्छन्, तब प्रयोगकर्ता स्वचालित रूपमा युट्युब च्यानलमा रिडायरेक्ट हुनेछ । यो फिचरको बारेमा जानकारी दिँदै कम्पनीले भनेको छ, “हामी युट्युबमा सबै क्रिएटर समुदायका लागि च्यानल क्युआर कोड सुरु गर्दैछौ । आशा गर्छौं कि यो नयाँ अपडेटसँग तपाईं आफ्नो च्यानल सजिलै शेयर गर्न सक्नुहुन्छ, जो तपाईंको कन्टेन्ट हेर्न चाहन्छन् ।”
यदि तपाईं युट्युब क्रिएटर हुनुहुन्छ र आफ्नै च्यानलमा भिडियो अपलोड गर्नुहुन्छ भने तपाईं आफ्नो च्यानलको क्युआर कोड अरू प्रयोगकर्ताहरूसँग शेयर गर्न सक्नुहुन्छ–
– यसको लागि सबैभन्दा पहिले फोनमा युट्युब खोल्नुहोस् ।
– तल दायाँ कुनामा रहेको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् ।
– यहाँ माथि फेरि प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
– अब यहाँ माथि दायाँ कुनामा मेनु विकल्पमा जानुहोस् ।
– अब मेनुबाट शेयर विकल्पमा ट्याप गर्नुहोस्।
– अब यहाँ क्युआर कोड विकल्पमा ट्याप गर्नुहोस् ।
– यसो गर्दा स्क्रिनमा तपाईंलाई क्युआर कोड देखिनेछ ।
– यसलाई सिधै स्क्यान गर्न लगाउन सक्नुहुन्छ वा “सेभ टू क्यामेरा रोल“ मा क्लिक गरेर ग्यालरीमा सेव गर्न सक्नुहुन्छ । यस बटनमा ट्याप गर्नासाथ तपाईंको क्युआर कोड ग्यालरीमा आउनेछ ।