वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरु वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिवद्धता जनाएका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरुका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए। भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरु स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिइ काम गरिरहेको उल्लेख गरे। उनले हरेक प्रदेश र जिल्ला—जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरुलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए।
उनले भने, ‘सिक्नका लागि अनुकलता, वातावरण चाहिन्छ। कहाँ सिक्ने, कसरी सिक्ने त्यसका निम्ति अस्ति खेलाडी टिमले पनि बताइसकेको छ। हामीलाई लगातार सिक्नका लागि कभर्ड हल आवश्यक छ। हरेक मौसममा सिक्नका लागि कभर्ड हल आवश्यक छ । हामीसँग कभर्ड हल छैन। अहिले हामी कभर्ड हलको कुरा गर्दैछौँ। प्रदेश प्रदेशमा भयो भने सकेसम्म जिल्ला, जिल्लामा पुग्यो भने हामी त्यहीँ सिक्न सक्छौँ। त्यसकारण यसको बिस्तार र शुरुवात गरिनुपर्छ। खेलाडीहरुले सुविधा प्राप्त गर्ने हो।’