वीरगञ्ज । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा वीरगञ्ज भन्सार कार्यालयले १२ अर्बभन्दा बढी राजश्व संकलन गरेको छ। साउन महिनामा कुल १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ।
भन्सार विभागले वीरगञ्ज भन्सारलाई साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य दिएको भए पनि लक्ष्यको तुलनामा २८ प्रतिशत कम राजश्व संकलन भएको छ।
साउन महिनामा आयाततर्फ चार अर्ब ९७ करोड ५२ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने मूल्य अभिवृद्धि करबाट चार अर्ब ५८ करोड ५६ हजार रुपैयाँ संकलन भएको छ। अन्तः शुल्कबाट भने ९४ करोड ४१ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
वीरगञ्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार, साउन महिनामा पेट्रोलियम पदार्थहरू, विशेष गरी डिजेल र पेट्रोलको आयात सबैभन्दा बढी भएको छ। साथै, मोटरसाइकल, एलपी ग्याँस, जिप, कार, भ्यानजस्ता सामग्रीहरूको पनि प्रमुख रूपमा आयात भएको छ। निर्याततर्फ भने जुस, फलामे पाता, पिना, जमोट कपडालगायतका वस्तुहरूको निर्यात भएको छ।