वीरगञ्ज | वीरगञ्जमा मलेरियाका दुई जना संक्रमित भेटिएका छन्। वीरगञ्ज १७ का एक व्यक्तिलाई लामो समयदेखि ज्वरोले ग्रसित भएपछि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मलेरियाको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
उक्त बिरामीलाई अस्पताल पुर्याउन आएका अर्का व्यक्तिमा पनि मलेरियाको परीक्षण गर्दा उनीमा समेत मलेरियाको संक्रमण देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य अधिकारीहरूको टोलीले दुवैजनामा मलेरियाको संक्रमण भएको पुष्टि गरेको हो।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यो मलेरिया आयातित भएको जानकारी दिए। संक्रमित व्यक्तिहरू कामको सिलसिलामा भारतको जोधपुरमा बसेका थिए, र त्यहीँबाट मलेरियाको संक्रमण भित्रिएको आशंका गरिएको छ।
हाल दुवै संक्रमितलाई अस्पतालमा भर्ना गरी मलेरियाको औषधि दिइँदैछ। अधिकारीहरूले यस घटनाले वीरगञ्जमा मलेरियाको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।