वीरगञ्ज । नेपाल औषधि व्यवसायी सङ्घ पर्साको स्थगित निर्वाचन अविलम्ब गराउन माग गर्दै शनिबार वीरगञ्जका औषधि व्यवसायीहरू सडकमा उत्रिएका छन्।
गत असार ८ गते सम्पन्न नेपाल औषधि व्यवसायी सङ्घ पर्साको दोस्रो अधिवेशनको निर्वाचन स्थगित भएपछि अध्यक्ष पदका उम्मेदवार मानव राजपालको नेतृत्वमा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका हुन्। शनिबार घण्टाघरमा जम्मा भएका व्यवसायीहरूले विभिन्न नारा अङ्कित प्लेकार्ड बोकेर नगर परिक्रमा गरेपछि सङ्घको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो।
राजपालले विपक्षी उम्मेदवारहरूले आफूलाई हराउने निश्चित भएपछि अयोग्यताको झूठो दाबी गर्दै अधिवेशन रोक्ने प्रयास गरेको आरोप लगाए। उनले मिति २०८१ असार ७ गते नै केन्द्रीय समितिलाई सूचित गर्दै आफ्नो उम्मेदवारी र अधिवेशन प्रक्रिया अघि बढाउन आग्रह गरेको जानकारी दिए।
उनका अनुसार, जिल्ला शाखाले केन्द्रीय समितिको निर्णयलाई गलत तरिकाले व्याख्या गर्दै दुई महिना बित्दा पनि निर्वाचन नगरेकोले व्यवसायीहरू सडकमा उत्रन बाध्य भएका हुन्। राजपालले पूर्व अध्यक्ष र प्रदेश समितिका केही व्यक्तिहरूले सहमतिमा कार्यसमिति बनाउने प्रयास गरिरहेको र साउन २६ गतेको बैठकमा श्रावण १९ गतेका लागि मिति राखेर पदाधिकारीहरूलाई निर्वाचित गरेको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए।
राजपालले यस कार्यलाई बेइमानी र अपराधको रूपमा व्याख्या गर्दै केन्द्रीय समितिलाई तत्काल खबर गरेको बताए। उनले लोकतान्त्रिक पद्धतिको उल्लङ्घन भएको भन्दै केन्द्रीय समितिलाई आवश्यक कारबाही गर्न र अविलम्ब निर्वाचन गराउन आग्रह गरेका छन्।