वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका नेता अरुण सिंहले पश्चिम बंगालमा एक डाक्टर महिलामाथि भएको बर्बर बलात्कारको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पश्चिम बंगालकी मुख्यमन्त्रीलाई तुरुन्त राजीनामा दिन माग गरेका छन्। उनले यो घटनाले सरकार र प्रशासन नागरिकप्रति कति संवेदनशील छन् भन्ने प्रश्न उठाएको बताउँदै राज्यमा राष्ट्रपति शासन लागू गर्नुपर्ने मागसमेत गरेका छन्।
घटना बंगालको हो, जहाँ एक महिला मुख्यमन्त्रीको शासनकालमा एक डाक्टर महिलामाथि बर्बरताको सबै हद पार गर्दै बलात्कार भएको छ। यो घटना मानवताको सीमाना नाघेको उदाहरण हो, जसले लोकतान्त्रिक व्यवस्थाप्रति नै शंका उत्पन्न गरेको छ। अरुण सिंहले यस्तो घटनामा राज्य सरकारको असफलतालाई जोडदार रूपमा औंल्याउँदै मुख्यमन्त्री ममता बनर्जीको नैतिकताका आधारमा तुरुन्त राजीनामा दिनुपर्ने बताएका छन्।
अरुण सिंहले पश्चिम बंगालको प्रहरी प्रमुखलाई पनि तुरुन्त बर्खास्त गर्नुपर्ने माग राखेका छन्। उनका अनुसार यस्तो गम्भीर घटनामा राज्यको प्रशासनले गम्भीरता नदेखाएको अवस्थामा नैतिकताको दृष्टिकोणबाट राज्यका उच्च पदाधिकारीहरूलाई जिम्मेवारी लिनुपर्ने हुन्छ। यो घटना आफैंमा पश्चिम बंगाल सरकार र प्रशासनको असफलताको प्रमाण हो, जसले गर्दा राज्यमा राष्ट्रपति शासनको माग उठेको छ।
अरुण सिंहले यो घटना लोकतान्त्रिक मूल्य–मान्यताहरूको उल्लंघन भएको बताउँदै, यस्तो अवस्थामा जनताको सुरक्षाका लागि कडा कदम उठाउनुपर्ने तर्क गरेका छन्। उनले पश्चिम बंगालको सरकार र प्रशासनलाई नागरिकप्रतिको संवेदनशीलता र जिम्मेवारीप्रति प्रश्न उठाउँदै यस घटनाले देशकै लोकतान्त्रिक संरचनामा सन्देह उत्पन्न गराएको बताएका छन्। अरुण सिंहको अनुसार विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको एक राज्यमा यस्तो घटना हुनु अत्यन्त चिन्ताजनक छ, र यसले लोकतान्त्रिक व्यवस्थामा नै संकट ल्याउन सक्छ।