वीरगंज | यो वर्ष देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ, जसले धान उत्पादनमा वृद्धि हुने र आयात घट्ने अपेक्षा गरिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशभरका करिब १४ लाख हेक्टर जमिनमध्ये १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष साउनसम्म रोपाइँको प्रतिशतमा उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो वर्ष साउनसम्म ९० प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्ष आठ प्रतिशतले बढेर ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको हो। राम्रो वर्षाका कारण देशभर रोपाइँको गति पनि तेज भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने कोशी प्रदेशमा ९५ प्रतिशत मात्र रोपाइँ भएको छ। अघिल्लो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ९९ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम ६० प्रतिशत रोपाइँ मात्र भएको थियो।
धान उत्पादनमा वृद्धि हुने प्रक्षेपणले धान र चामलको आयातमा कमी आउने अपेक्षा गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा धान र चामलको आयात रु २१ अर्ब ३४ करोडमा सीमित भएको थियो, जबकि अघिल्लो आर्थिक वर्षमा रु ३५ अर्ब ९० करोडको आयात गरिएको थियो। यो तथ्यांक अनुसार आयातमा करिब १३ अर्बले कमी आएको छ।
यस वर्ष धान उत्पादन करिब छ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसका कारण आगामी वर्षमा धान र चामलको आयात अझै घट्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ।