वीरगंज | कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले महिलाहरूलाई सीप सिकाएर उद्यमी बनाउने सानो पाइलाको प्रयासको सराहना गरेका छन् ।
सानो पाइलाद्वारा सञ्चालित परियोजना स्कुल अफ वुमन्स अन्टरप्रेनरसिप अन्तर्गत ललितपुरमा शुक्रबारदेखि सुरू भएको हस्तनिर्मित गरगहना बनाउने तालिमको उद्घाटन गर्दै मन्त्री चौरििसयाले भने,‘ जहाँजहाँ समस्या हुन्छ, त्यहाँत्यहाँ सानो पाइला समाधानसहित पुगेको मैले पाएको छु। दुव्र्यसनमा फसेका युवालाई पुर्नस्थापना गर्ने काम होस् वा अपराधमा फसेका युवालाई सुधारको बाटो देखाएर समाजमा घुलमिल बनाउने सवालमा होस्, सानो पाइलाले धेरै नै उल्लेख्य कामहरूको इतिहास बनाएको छ।’
प्रदेश सांसद श्याम पटेलले कोरोनाकालमा सानो पाइलाले अद्भूत काम गरेको आफूले प्रत्यक्ष देखेको भन्दै प्रशंसा गरे । सानो पाइलाले गरेको काम सफल हुनेमा दुइमत नरहेको भन्दै प्रदेश सांसद पटेलले भने,‘यो तालिमपछि महिला प्रशिक्षार्थीहरू प्रमाणपत्र लिएर जाने मात्र नभइ स्वाबलम्वी हुनुहुनेछ भन्नेमा म विश्वस्त छु।’
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष कमला श्रेष्ठले महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयासमा आफूबाट सक्दो सहयोग हुने बताइन् । उद्घाटन कार्यक्रममा सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले संस्थाको स्थापनाको इतिहासबारे चर्चा गरे। अधिकार विकेन्द्रिकरणको अवधारणा अन्तर्गत आफूहरूले वीरगन्जमा मुख्यालय खोलेर काठमाडौं लगायत अन्य ठाउँहरूमा काम गरिरहेको उनले बताए ।
झाले कानुन मन्त्री चौरसियाको ध्यानाकर्षण गराउँदै भने,‘वीरगन्जमा रहेर हाम्रो अभिभावकत्व निर्वाह गरिरहनुभएका मन्त्री ज्यू, प्रदेश सांसद ज्यू पनि यहाँ हुनुहुन्छ, सानो पाइलाले गरिरहेका काममा सुरुआतदेखि नै तपाइँहरूको सहयोग छ, र यस्ता कार्यक्रमहरूमार्फत महिलाहरूको उन्नति–प्रगतिमा पनि भविष्यमा सहयोग भइरहने छ भन्ने मेरो अपेक्षा हो।’
सानो पाइलाका सभापति सुदीप कुमार तामाङ लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहको सहजजीकरण सानो पाइलाका अपरेसन हेड विवेक कर्णले गरेका थिए ।