वीरगंज | अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजापट्टी नजिकैबाट विस्थापित भएका लगभग सबै इजरायली घर फर्किसकेको अधिकारीहरूले बताएका छन्।
घातक आक्रमणबाट प्रभावित सीमावर्ती समुदायको पुनर्निर्माण र पुनःस्थापनाको जिम्मा दिइएको सरकारी एजेन्सीका अनुसार ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको दक्षिणी इजरायली क्षेत्रको ८० प्रतिशतभन्दा बढी मानिस जुलाईसम्म घर फर्किसकेका छन् । इजरायली अधिकारीहरूले गाजा सीमा क्षेत्रबाट निकालिएका मानिसहरूलाई राज्यको खर्चमा होटलमा आवासको व्यवस्था गरेका थिए। यो व्यवस्थाको अवधि बिहीबारबाट समाप्त हुनेछ।
हमासको आक्रमणबाट क्षतिग्रस्त भएका १० किबुट्ज समुदायका बासिन्दाहरूलाई कम्तीमा अर्को एक वर्षका लागि देशका विभिन्न स्थानमा अस्थायी आवास दिइने इजरायलको तेकुमा प्राधिकरणले विज्ञप्तिमा जनाएको छ। प्यालेष्टिनी क्षेत्रबाट रकेट हमलाको खतराका कारण गाजा सीमा नजिकै रहेका अन्य समुदायलाई असुरक्षित घोषणा गरिएको छ।
इजरायली रक्षा मन्त्रालयले गाजा सीमामा सुरक्षा सुधार गर्न मंगलबार एउटा पाइलट परियोजनाको घोषणा गरेको थियो। परियोजनामा बाड़, ड्रोन, कमान्ड सेन्टर र विशेष सञ्चार पूर्वाधार लगानीलाई प्रोत्साहन गरिएको छ। इजरायली आधिकारिक तथ्यांकका अनुसार गाजामा चलिरहेको युद्धलाई उत्प्रेरित गर्ने हमासको आक्रमणमा एक हजार १९८ जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा अधिकांश आम नागरिक थिए।
इजरायली प्रतिशोधात्मक सैन्य आक्रमणले गाजामा ४० हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ। युद्धले यस क्षेत्रमा इरान समर्थित हमास सहयोगीहरूलाई सामेल गरेको छ। यसम शक्तिशाली लेबनानी समूह हेजबुल्लाह पनि समावेश रहेको छ। इजरायल–लेबनानको दुवै पक्षका दशौँ हजार बासिन्दा हिंसाबाट विस्थापित भएका छन्।