वीरगञ्ज । वीरगञ्जको मुख्य सडकलाई फराकिलो बनाउने योजना धेरै समयदेखि चर्चामा छ, तर हालसम्म यसबारे ठोस निर्णय नआएकोले यस योजना प्रति महानगरपालिकाको विश्वस्तता पनि कमजोर देखिएको छ। नगरप्रमुख राजेशमान सिंहको नेतृत्वमा दुई वर्षदेखि यो योजना अघि बढाउन प्रयास भइरहेको भए पनि अदालतले यो मुद्दालाई टुंगो लगाउन नसक्दा योजना अधुरो बनेको छ।
नगरप्रमुख सिंहले अदालतबाट निर्णय आएपछि आफू योजनामा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तर, महानगरपालिकाले मुख्य सडकको २५ मिटरभित्र जनस्वास्थ्य प्रयोगशाला निर्माण गरेपछि यो योजना प्रति महानगरको सन्देह थप गहिरिएको छ। पुरानो वारुणयन्त्र रहेको भूमिसुधार तथा मालपोत कार्यालय, पर्सा अगाडिको जग्गामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिएको छ, जुन मुख्य सडकको २५ मिटरभित्र पर्दछ।
नगरप्रमुख सिंहले यसअघि यो प्रयोगशाला मुख्य सडक विस्तारको क्रममा हटाउने गरी निर्माण गरिएको बताए पनि हाल सोही क्षेत्रमा पर्खाल र मुख्य प्रवेशद्वारसमेत निर्माण गरिएको छ। यसले महानगरले मुख्य सडक फराकिलो नहुने निष्कर्ष निकालेको संकेत दिएको छ।
साथै, महानगरपालिकाअन्तर्गत रहेको महावीरप्रसाद रघुवीर राम त्रिजुद्ध मावि परिसरमा पनि मुख्य सडकको २५ मिटरभित्रै नयाँ संरचनाहरू निर्माण गरिएका छन्। विद्यालयको अगाडि रहेका पसल र सटरहरूको नजिकै नयाँ संरचना निर्माण कार्यहरू चलिरहेका छन्।
मुख्य सडक विस्तारको मुद्दा सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन छ। यसअघि ३२ पटक हेर्न नभ्याएपछि मुद्दाको पेशी हेर्दाहेर्दै साउन २७ गतेका लागि तोकिएको छ।
महानगरले मुख्य सडक फराकिलो हुने सम्भावना नदेखेर २५ मिटरभित्र आफ्नै लगानीमा निर्माण कार्य तीव्र पार्न थालेको देखिन्छ, जसले भविष्यमा सडक विस्तारको योजना थप अन्योलमा पर्ने संकेत गर्दछ।