वीरगञ्ज । देशकै मुख्य भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा पनि राजस्व संकलनको लक्ष्य पुरा गर्न असफल भएको छ। आर्थिक नगरी वीरगञ्जमा अवस्थित यो भन्सार कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको हो।
गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयले १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ। यो रकम भन्सार विभागले तोकेको २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैयाँको लक्ष्य भन्दा ३६ प्रतिशतले कम हो। यस अनुसार, वीरगञ्ज भन्सार कार्यालयले जम्मा ६४ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ।
वीरगञ्ज भन्सार कार्यालयले गत वर्षका बाह्रै महिनामा कुनै पनि महिनामा भन्सार विभागबाट पाएको लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन। सबैभन्दा बढी राजस्व संकलन असार महिनामा ७३ प्रतिशत मात्र भएको छ भने सबैभन्दा कम कार्तिक महिनामा ५०.५३ प्रतिशत मात्रै संकलन भएको छ।
वीरगञ्ज भन्सार नाका मुख्य रुपमा डिजेल, मटितेल, एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, जिप, कार, भ्यान लगायतका सामानहरु आयात हुने मुख्य नाका हो। तर गत वर्ष औद्योगिक कच्चा पदार्थको आयातमा कमी आएको कारणले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले जानकारी दिएका छन्। यसअघि पनि आर्थिक वर्ष २०७९/८० मा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट पाएको राजस्व संकलनको लक्ष्य पूरा गर्न असफल भएको थियो। यसरी लगातार दुई आर्थिक वर्षमा लक्ष्य पूरा गर्न नसक्दा, वीरगञ्ज भन्सार कार्यालयको कार्यक्षमतामा प्रश्न उठ्न थालेको छ।