वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जले आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा स्थित सीमा नाकाबाट लाखौं मूल्य बराबरका विभिन्न किसिमका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीको टोलिले भारतबाट भन्सार छलि गरेर सार्वजनिक सवारी साधनहरुमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको १० लाख ६३ हजार रुपैयाँ बराबरको कपडा, किराना सामान, मोटर पार्टस, हार्डवेयर, प्लम्बिङ्गका सामान र कस्मेटिक सामान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले बताएअनुसार, बरामद गरिएका सामानहरू आवश्यक कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। यस किसिमका कारबाहीले सीमा क्षेत्रबाट हुने अवैध व्यापार र तस्करीलाई निरुत्साहित गर्ने र कानूनी शासन कायम गर्न सघाउ पुर्याउने विश्वास लिइएको छ।