वीरगञ्ज । मधेश प्रदेश सरकारले मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीसँग स्पष्टीकरण माग गरेको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले आइतबार प्रतिष्ठानका अध्यक्ष कापडीलाई सांगीतिक क्षेत्रका साधक गुरुदेव कामतको पारिश्रमिक वापतको रकम उपलब्ध नगराएको विषयमा विभिन्न किसिमको टिकाटिप्पणी भइरहेको भन्दै उनीसँग स्पष्टीकरण माग गरेको हो।
विभिन्न सञ्चारमाध्यममा समेत पारिश्रमिक वापतको एक लाख रुपैयाँ र सो प्रतिष्ठानको क्यालेन्डरमा स्व. कामतले गरेको गायन प्रस्तुतिको फोटोसँगै भिडियोसमेत देखिएकाले सोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। मन्त्रालयले अध्यक्ष कापडीलाई लिखित जवाफसहितको कागजात र स्व. कामतको सम्बन्धमा कस्तो खाले समाधानका लागि के के गरिएको छ भन्ने विषयमा दुई दिन भित्र जानकारी गराउन पत्राचार गरेको छ।
मन्त्रीस्तरीय बैठकबाट आइतबार लेखिएको पत्रमा, स्व. कामतको पारिश्रमिक वापतको विषयमा लिखित जवाफसहित समाधानका लागि गरिएको प्रयासबारे समेत चासो राख्दै अध्यक्ष कापडीलाई पत्राचार गरिएको जनाइएको छ।
यसैबीच, साधक गुरुदेव कामतलाई पारिश्रमिक नदिएको भन्ने विवाद चुलिएकै अवस्थामा तत्कालीन मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य गोपाल ठाकुरले पनि अध्यक्ष कापडीले आफ्नो आवास सुविधा वापतको खर्चस्वरुप रकम उपलब्ध नगराएको आरोप लगाएका छन्। उनले पटक-पटक अध्यक्ष कापडीलाई आफ्नो आवाससहितको सुविधाको रकम उपलब्ध गराउन अनुरोध गर्दा पनि बेवास्ता गरेको बताएका छन्।
पूर्व सदस्य ठाकुरले सामाजिक सञ्जालमा एक व्यक्तिसँग गरिएको कुराकानीको संक्षिप्त अंश भाइरल भएको छ। भाइरल भएको सो कुराकानीको अंश अनुसार अध्यक्ष कापडीले सुरुदेखि नै बेवास्ता गरेको आरोप लगाउँदै आर्थिक वर्षको अन्त्यतर्फ आएर आफूलाई आवाससहितको सुविधा व्यवस्था रहेको रकम नै फ्रिज भएको जनाएपछि आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन्। उनले एकातर्फ प्रतिष्ठानको पदाधिकारीको सुविधा नभेटिएको र अर्कोतर्फ बजेट फ्रिज भएको भन्ने कुरालाई के भन्ने भन्दै प्रश्न समेत गरेका छन्।
अध्यक्ष कापडीले निधन भएका साधक कामतदेखि वर्तमान भाषा आयोगका अध्यक्ष रहेका ठाकुरसम्मलाई ठगी गरेको आरोप लागिरहेको अवस्थामा मन्त्रालयले लिखित स्पष्टीकरण माग गरेपछि यसले विभिन्न शंका उपशंका समेत उब्जाएको छ।