वीरगञ्ज। पर्सा र बारामा बितेको आर्थिक बर्ष ०८०/८१ मा प्रहरीले १० थान बिभिन्न किसिमका अवैध बन्दुकहरु बरामद गरेको छ। पर्सा र बारा दुबै जिल्लाबाट गरि बीस थान गोली पनि बरामद भएको दुवै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पर्साबाट कटुवा पेस्तोल– दुई थान, मेडईन युएसए लेखिएको एक थान पेस्तोल गरि तीन थान बन्दुक बरामद भएको हो। यसैगरी बाराबाट भरुवा बन्दुक एक थान, एउटा रिभल्वर र पाँचवटा कटुवा पेस्तोल गरि सात थान बन्दुक बरामद भएको छ। साथै दुबै जिल्लाबाट प्रहरीले बन्दुक र गोलीसहित मानिसहरुलाई पनि पक्राउ गरेको छ।
पर्सा प्रहरीले बन्दुक र गोलीसहित बितेको आर्थिक बर्षमा ६ जना पुरुषहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये चार जनामाथि मुद्दा समेत दर्ता गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। बाराबाट बन्दुकसहित पक्राउ परेका माथि पनि प्रहरीले मुद्दा दर्ता गरेको छ।
पर्सामा बितेको आर्थिक बर्षमा बन्दुकहरु बढी बरामद भएको तथा अपराधिक घटनाहरुमा पनि वृद्धि भएको छ। बारामा गत आर्थिक बर्षमा दिनदहाडै कलैयामा दुई जनामाथि गोली प्रहार गरि हत्या भएको थियो। गत बर्ष कार्तिक १३ गते बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या भएको थियो।
उनको हत्यामा भारतीय अपराधिहरुको संलग्नता रहेको थियो। यस्तै, गत जेठ ३२ गते पनि कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो। दुबै हत्यामा संलग्न रहेका अधिकांश आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।
बारामा अपराधिक घटनाहरु बढेको तथा हतियार पनि बरामद गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन्। उनले भारतसित खुल्ला सिमानाका कारणले पनि उताबाट हतियार लिएर आएर जिल्लामा अपराधिक घटनाहरु हुने गरेको बताए। अपराधिक घटनाहरु कम गर्न र हतियार नियन्त्रणमा लिनको लागि सिमानाकामा जाँचमा पनि कडाई गरिएको उनले बताए।