वीरगञ्ज । कुर्मी सशक्तीकरण मंच पर्साको बैठकले आउँदो भदौ २९ गते शनिवार एसईई पास गरेका सम्पूर्ण स्वजातीय विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको छ। मंचका प्रवक्ता अनिल पटेलले यसबारे जानकारी दिएका छन्। बैठकमा मंचका इंचार्ज धर्मेन्द्र पटेलले विगत चार वर्षदेखि बन्द रहेको सम्मान कार्यक्रम यस वर्षदेखि पुन: लागू गरिएको जानकारी दिए।
मंचका अध्यक्ष दीपक पटेलले बैठकमा बोल्दै २०८० सालमा पर्सा जिल्लाबाट स्वजातीय छात्रा आंचल कुमारी पटेलले जिल्ला टप गरेकोमा बधाई तथा धन्यवाद दिए। साथै, एसईई पास भएका सम्पूर्ण स्वजातीय विद्यार्थीलाई आफ्नो सर्टिफिकेटको प्रतिलिपि भदौ २० गतेसम्म मंचमा सम्पर्क गरी बुझाउन अनुरोध गरेका थिए। कार्यक्रमको प्रचार प्रसार लगायत सफल बनाउनका लागि प्रत्येक सदस्यलाई फरक फरक जिम्मा दिइएको मंचका कोषाध्यक्ष राजेश पटेलले जानकारी दिए।
बैठकमा मंचका अध्यक्ष दीपक पटेलको अध्यक्षता तथा इंचार्ज धर्मेन्द्र पटेलको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। बैठकमा मंचका पूर्व अध्यक्ष संजय पटेल, विशेषवर पटेल, वरिष्ठ उपाध्यक्ष खेमराज कुर्मी, विनोद पटेल, उपाध्यक्ष पन्नालाल प्रसाद कुर्मी, सचिव देवप्रकाश पटेल, कोषाध्यक्ष राजेश प्रसाद कुर्मी, सहकोषाध्यक्ष हरेन्द्र पटेल, प्रवक्ता अनिल पटेल, सदस्यहरू नरेश पटेल, दिलीप पटेल, कन्हैया पटेल, रामप्रसाद कुर्मी, गोबिन्द प्रसाद कुर्मी, राजेश पटेल, रञ्जित पटेल, सन्तोष पटेल लगायतको सहभागिता रहेको थियो। सचिव देव प्रकाश पटेलले बैठकको जानकारी दिएका थिए।