वीरगञ्ज । ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले सञ्जयले फिरौतीका लागि नभई बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको देखाएको छ। बालिकाको ठूलीआमा वैदेशिक रोजगारीका लागि काठमाडौं गएकी थिइन्। मंगलबार अपहरणपछि सञ्जयले बालिकाको मामालाई फोन गरेर दिदीलाई फिर्ता बोलाउन भनेका थिए। फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए।
प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध रहेको छ। प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन्। तर प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको बताइएको छ।
बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन्। बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए। चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन्। पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ।