वीरगञ्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजनामा बुधवार मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीलाई सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जको पूजन होटलमा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री क्षेत्रीले नेपालको सहकारी क्षेत्रमा देखिएका समस्याहरूको उल्लेख गर्दै केही सहकारीहरूको अक्रमण्यताको कारण जनतामा निराशा पैदा भएको बताए। उनले गरिब र असहाय व्यक्तिहरूले जम्मा गरेको रकम केही सहकारीहरूले डुबाउँदा सदस्यहरू निराश भएकोले त्यस्ता सहकारी र सञ्चालकहरूलाई कडा कारवाही गरिने बताए। साथै, उनले संघीय गृह मन्त्रालयले गलत गर्ने सहकारीहरूको ठगी प्रकरणमा कारवाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।
मन्त्री क्षेत्रीले सहकारीहरूको अनुगमन र नियमन नगर्नाले समस्या उत्पन्न भएको उल्लेख गर्दै सहकारी नीतिहरूको पालना गर्दा कुनै समस्या नआउने दाबी गरे। एक फरक प्रसंगमा उनले काँग्रेस र एमालेको गठबन्धन संविधानमा रहेका जटिलताहरूको समाधान गर्न बनेको र समावेशी र समानुपातिक प्रणाली खारेज नहुने स्पष्ट पारे।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका सचिव डा. शरण कुमार पाण्डेले मधेश प्रदेशमा ८२३ वटा सहकारीहरू रहेको तथ्यांक भए पनि १६५ वटा मात्र नियमित सम्पर्कमा रहेको बताए। उनले सहकारीहरूको प्रतिस्पर्धाका कारण सही ऋणी र बचतकर्ताहरू छनोट गर्न नसकेको र यसले सहकारीहरूको अवस्था जिर्ण भएको बताए।
संघ पर्साका अध्यक्ष राजेश पडितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका शम्भु गुप्ता, संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, जिल्ला कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साह लगायतले मन्तव्य व्यक्त गर्दै मन्त्री क्षेत्रीलाई बधाई दिए। कार्यक्रमको सहजीकरण संघ पर्साका उपाध्यक्ष राकेश यादवले गरेका थिए भने स्वागत महासचिव जिष्णु बरालले गरेका थिए।