वीरगञ्ज । परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा उपचाररत बारा फेटा गाउँपालिका वडा नम्बर ३ बेनौलीका सिकेन्द्र मुखियाको सोमवार बिहान मृत्यु भएको छ। परिवारजनले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन्।
मुखिया केही दिनअघि गाउँमैं मोटरसाइकल दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका थिए। भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो। अस्पतालले उनको टाउकोमा रगत जमेकोले स्थिति स्थिर बनाएर शल्यक्रिया गर्ने तयारी गरिरहेको थियो। तर, गएराति अचानक अक्सिजनको मात्रा घट्दै गएपछि उनको अवस्था सिकिस्त भएको थियो।
मुखियाको मृत्यु भएपछि परिवारजनले अस्पतालले प्रभावकारी उपचार नगरेको र रेफर गर्नुपर्ने बिरामीलाई अस्पतालमै राखेर लापरवाही गरेको आरोप लगाएका छन्।
दुर्घटनामा ठक्कर दिने मोटरसाइकल चालकको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल बारा प्रहरीको नियन्त्रणमा रहेको छ। एलएस न्युरो अस्पतालमा उपचारमा लागेको खर्च पनि बाँकी रहेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ।