वीरगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरले मुर्ली चौकमा यात्रुहरूलाई जेब्राक्रसिङ्ग बाट कसरी आवतजावत गर्ने बारेमा जानकारी गराएको छ। यो जानकारी अभियान बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन गरिएको थियो।
सचिव दिलिप प्रधानले बताएअनुसार, सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो कार्यक्रम सन्चालन गरिएको हो। दुर्घटनालाई कम गर्ने उदेश्यले सवारीसाधनलाई रोकेर जेब्राक्रसिङ्गको महत्व तथा प्रयोगबारे यात्रुलाई जानकारी गराइएको हो।
कार्यक्रममा समुदायका पदाधिकारीहरू, जनपद प्रहरी तथा ट्राफिक प्रहरीको विशेष उपस्थिति रहेको थियो। वरिष्ठ उपाध्यक्ष जयालाल साह, हवल्दार सुभाष प्रसाद यादव, प्रहरी जवान राजु चौरसिया लगायतका अन्य सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा प्रहरीहरू पनि सहभागी थिए।
त्यसैगरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीले वडा नम्बर १४ मा रहेको बौद्धिमाई मन्दिरको प्राङ्गणमा सरसफाइ कार्यक्रम समेत सञ्चालन गरेको छ। सचिव प्रधानले उक्त सरसफाइ कार्यक्रममा सहयात्री समाजका पदाधिकारीहरूको पनि उपस्थिति रहेको जानकारी दिनुभयो।