धनुषा । विश्वविद्यालय शिक्षालाई निःशुल्क बनाउने प्रतिवद्धताका साथ संयुक्त विद्यार्थी प्यानल चुनावी मैदानमा उत्रेको छ । राजर्षी जनक विश्वविद्यालयमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी मैदानमा संयुक्त रुपमै उम्मेद्वारी दिएका तीनवटा पार्टीका विद्यार्थी संगठनहरु उक्त प्रतिवद्धताका साथ चुनावी मैदानमा उत्रेका हुन् ।
ऋखिल क्रान्तिकारी, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले आगामी साउन १७ गते हुन गइरहेको स्ववियु निर्वाचनमा विश्व विद्यालय शिक्षा निःशुल्क गराउने प्रतिवद्धताका साथ संयुक्त उम्मेद्वारी दिएका छन् ।
गठबन्धन मै चुनाव लडिरहेका यी संगठनहरुले २१ बुंदे संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । विश्वविद्यालयमा रहेका समस्याहरु समाधान गरी विद्यार्थीहरुका हक, हित र अधिकारको प्राप्ति र रक्षा गर्न स्ववियु निर्वाचनमा प्रत्यक्ष र समानुतिक गरी १४ वटा पदका लागि उम्मेद्वारी पेस गरिएको संयुक्त विद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार श्याम साहले जानकारी दिनुभयो ।
संयुक्त विद्यार्थी प्यानलमा अखिल क्रान्तिकारीले सभापति पद पाएको छ भने समाजवादी विद्यार्थी युनियनको हकमा सचिव पद र अनेरास्ववियुले कोषाध्यक्ष पाएको छ ।
सदस्य तर्फ अनेरास्ववियुले २ ,अखिल क्रान्तिकारीले १ र समाजवादी विद्यार्थी युनियनले ३ वटा सिट पाएको छ भने समानुपातिक तर्फ तीनैले समान दुई दुई वटा सिट पाएको हुन् ।
विश्वविद्यालयको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा छाप्न लगाउने सुनिश्चितता उल्लेख भएको प्रतिवद्धतापत्रमा विद्यार्थीहरुका लागि बस सेवा,छात्रावास, सम्पुर्ण विद्यार्थीहरुको स्वास्थ्य बीमा र निःशुल्क स्वास्थ्य परिक्षण अनिवार्य गर्न व्यवस्था गराइनेछ भनिएको छ ।
यता, निर्वाचनको तयारी व्यवस्थित रहेको राजर्षी विश्वविद्यालयका उपकुलपति अमर प्रसाद यादवले बताउनु भएको छ । उहाँले, “निर्वाचन समितिले सबै काम औपचारिक तरिकाले व्यवस्थापन गरेको छ, कुनै किसिमको समस्या छैन र निर्वाचन १७ गते नै हुनेछ ।’’ भन्नुभयो ।