वीरगंज | सिरहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजा बिक्री वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार धनगढीमाई– ७ कसहा घर भएका काशिन्द्र महतोले संचालन गरिरहेको हार्डवेयर पसलबाट आइतबार तीनजना युवकहरुलाई लागूऔषधसहित पक्राउ गरिएको हो।
पसलबाट लागूऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट कसहाबाट प्रहरी सहायक निरीक्षक विष्णुदेव यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढीमाई– ७ कसहा घर भएका करिब २२ वर्षीय अंकेश महतो, २४ वर्षीय लालुराय अमात र २१ वर्षीय पवन साह सुनारलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रहरी निरीक्षक दिपककुमार सिंहले जानकारी दिए।
उनका अनुसार खानतलासीको क्रममा पसलसँगै जोडिएको कोठामा डसनामुनि लुकाएको अवस्थामा ब्राउनसुगरजस्तो देखिने खैरो रङ्को पदार्थ ४.९० मिलिग्राम, २० ग्राम गाँजा, मधेश प्रदेश ०१–००४ प २५५५ नम्बरको मोटरसाइकल र तीन थान स्क्रिनटच मोवाइल बरामद गरिएको छ।
पक्राउ गरिएका तीनै जनालाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु पसलमा काम गर्ने युवकहरु हुन् वा लागूऔषध खरिद गर्न आएकाहरु हुन् भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन।