वीरगंज । तीन वर्षअघि ४९ अर्ब रुपैयाँ घाटामा रहेको नेपाल आयल निगमले पछिल्लो आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ मुनाफा हुने प्रारम्भिक मूल्याङ्कन रहेको जनाएको छ।
“अघिल्लो आर्थिक वर्षमा हाम्रो मुनाफा करिब १० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ जुन त्यसअघिको आर्थिक वर्षमा भने ११ अर्ब रुपैयाँ थियो,” निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बीबीसीसँग भने। पछिल्ला वर्षमा अर्बौँमा नाफा आर्जन गरेको निगमले यतिखेर आफूले कुनै बाह्य ऋण समेत नभएको जनाएको छ।
तर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने कुरा आफ्नो बसमा नभएको जनाएको छ। “धेरै कुराहरू हाम्रो बसमा नभईकन तेल उत्पादक राष्ट्रहरू र अन्तर्राष्ट्रिय खपत प्रवृत्तिसँग गएर जोडिएको छ,” ठाकुरले बताए।
उपभोक्ता अधिकारकर्मीहरूले भने सीमावर्ती भारतीय सहरकै तुलनामा १५-२० रुपैयाँको अन्तर राखेर महँगोमा डीजल-पेट्रोल बेच्नु उपभोक्ताप्रतिको अपसंवेदनशीलताको प्रमाण रहेको बताएका छन्।
ओएलप्राइसडटकमका अनुसार एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रूड’को मूल्य पछिल्लो एक महिनामा प्रतिब्यारल औसत झण्डै ८२ अमेरिकी डलर रहेको छ। निगम प्रवक्ताले कच्चा तेलको मूल्यलाई मात्र आधार मान्दा मूल्य घट्नुपर्ने देखिए तापनि डलरको विनियम दरदेखि प्रशोधन खर्चले असर पारिरहेको बताए।
निगमले गत वर्ष जुलाईदेखि स्वचालित मूल्य प्रणाली लागु गरेको थियो। यद्यपि ‘ठूला तथा अप्रत्याशित अन्तर्राष्ट्रिय घटना’का बेला सरकारले ‘विशेष निर्णय लिन सक्ने’ बताएको निगमले सोही वर्षको दशैँतिहारमा प्रधानमन्त्रीको निर्देशनमा बढाएको मूल्य घटाएको थियो।
बिमला खनालजस्ता उपभोक्ता अधिकारकर्मीहरूले भने सरकारको ‘सबैभन्दा ठूलो गैरजिम्मेवारी मूल्य बढेका बेला बढाएझैँ, घटेका बेला नघटाउनु रहेको’ उल्लेख गरेका छन्।