बिरगंज | “अधिकार र कर्तव्यको लागि शिक्षक एकता” नाराका साथ नेपाल शिक्षक महासंघ बिरगंज महानगर समितिको दोस्रो पालिका अधिवेशन र शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले शिक्षाको उन्नति र प्रगतिको लागि सम्पूर्ण शिक्षकहरू एकताबद्ध हुनु पर्नेमा जोड दिएका थिए। उनीहरूले शिक्षकहरू माथि भइरहेको अन्यायको विरोध गर्न र नयाँ नेतृत्वको समर्थन गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका प्रमुख अतिथि, बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो मन्तव्यमा शिक्षकहरूमाथि भइरहेको प्रहार सहन नसकिने र उनीहरूको समस्याहरू समाधानका लागि आफु तत्पर रहेको बताए। उनले शिक्षकहरूलाई निर्भीकतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गर्दै कुनै समस्या परेमा आफूसँग सम्पर्क गर्न अनुरोध गरे।
नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष तिर्थराज यादवले नियमित पठनपाठन र कर्तव्य पालन गर्न आग्रह गर्दै आदेशको आधारमा गरिने सरुवाको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे। नव गठित पदाधिकारीहरूलाई उनले कार्यकालको शुभकामना पनि दिए |
कार्यक्रमको अध्यक्षता लालबाबु प्रसाद यादवले गरेका थिए भने विशिष्ट अतिथिहरूमा तिर्थराज यादव, प्रदीप कुमार जैसवाल, शिवनाथ प्रसाद थारु, सम्भु प्रसाद सोनार, रमेश प्रसाद चौधरी, हाशिम अंसारी लगायतका शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। प्रदीप कुमार जैसवालको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ, जसमा लालबाबु प्रसाद सहअध्यक्ष, सहाबुदिन अहमद उपाध्यक्ष, सुमन प्रसाद सोनार सचिव, सरस्वती गौतम महिला सहसचिव, बिजय कुमार यादव पुरुष सहसचिव, पुर्णिमा साह महिला सदस्य र अन्य सदस्यहरूमा ऋबुन्जय मिश्र, बाबुनन्द पटेल, भुषन चौबे, नेजामुलहक अंसारी, शिवनाथ थारु, अवध प्रसाद साह, भरत सहनी, जिउत राम र बिनोद प्रसाद चौहान रहेका छन्। कार्यक्रमको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिएका थिए।