वीरगञ्ज । नेपाल र भारतका उद्धार टोलीहरूले त्रिशूली नदीमा खसेको बस र बेपत्ता यात्रुको खोजी कार्य तीव्र पारेका छन्। शनिबार सिमलताल पुगेका भारतका उद्धारकर्मीहरूले आइतबार बिहान सशस्त्र प्रहरीको टोलीसँग संयुक्त रूपमा खोजी कार्यमा संलग्न भएका छन्।
आजको खोजी कार्य बस खसेको स्थानदेखि पाँच किलोमिटर वरिपरि फैलाइएको छ। उद्धार टोलीले तीनवटा सोनार क्यामेरासहितका उपकरणहरूको प्रयोग गरेर बेपत्ता बस खोज्न प्रयास गर्दैछ। शनिबार राति भारतबाट १२ जनाको उद्धार टोली नेपाल आएको थियो, जसमा ४ जना गोताखोर पनि छन्। उनीहरूले उद्धारमा प्रयोग हुने आवश्यक उपकरणहरू पनि ल्याएका छन्। सशस्त्र प्रहरी बलका एसपी जनक पुरीका अनुसार, “हामीले भारतबाट ल्याइएको उपकरण र हाम्रो उपकरणलाई संयुक्त रूपमा प्रयोग गर्दै खोजी गर्नेछौं।”
असार २८ गते नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीका कारण त्रिशूली नदीमा दुइवटा बस खसेका थिए। ९ दिन बितिसक्दा पनि एक बसको केही अंश मात्र भेटिएको छ। यस दुर्घटनामा ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ भने ३९ जना अझै बेपत्ता छन्।