वीरगञ्ज । पथलैया-हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर लामो उच्च भारवाहन क्षमताको सडक तयार भएको छ। हेटौँडास्थित सडक डिभिजन कार्यालयले उक्त सडक कालोपत्र गरेर सञ्चालनमा ल्याएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी रमेश पाण्डेका अनुसार वीरगञ्ज भन्सार कार्यालय हुँदै अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न यो नमूना सडक तयार पारिएको हो। “पथलैयाबाट हेटौँडा आउने सडकमा मालवाहक सवारीसाधनले सडक धसिने समस्या हुँदै आएको छ। यसलाई समाधान गर्न पहिलो चरणमा दुई किलोमिटर सडक स्तरोन्नति गरिएको छ,” पाण्डेले भने।
यस सडकको निर्माण पहिलो चरणमा ‘डिबिएम’ (डेंस बिटरमिनस म्याकदम) र दोस्रो चरणमा अस्फाल्ट कालोपत्र गरिएको छ। यो प्रविधिले सडक धसिने समस्या नआउने विश्वास गरिएको छ। गत माघ २२ गते सडक डिभिजन हेटौँडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। आयोजनाको कुल लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेको छ।
सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले निर्धारित समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो। सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट कालोपत्र गरिएका सडक लामो समयसम्म टिकाउ हुने दाबी गरे। “हामीले परीक्षणका क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गरेका छौँ। यो सडक प्रभावकारी साबित भएमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ,” भ्याटसहित करिब ५ करोड लगानीमा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी नमुना सडक निर्माणको काम सम्पन्न भएको हो। उनले भने।