वीरगञ्ज । वीरगञ्जको छपकैयामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा छापामारी गरी १३ लाख बराबरको भन्सार छलीका लत्ता कपडा बरामद गरेको छ। मंगलवार सशस्त्र प्रहरीका नायँव उपरीक्षक सुरज रिजाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले छापामारी गरी उक्त लत्ता कपडा बरामद गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर २ छपकैया गाउँका विभिन्न घरहरूमा खोजतलास गर्दा भारतबाट अवैध रूपमा ल्याई लुकाई छिपाई राखिएका १३ लाख १० हजार बराबरका साडी, कुर्ता, सुरुवाल लगायतका लत्ता कपडा बरामद गरेको थियो। सशस्त्र प्रहरीका प्रवक्ता देवेंद्र सिंहले जानकारी दिए अनुसार, बरामद गरिएको लत्ता कपडाको अनुमानित मूल्यांकन गरी आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
प्रवक्ता सिंहले भारतबाट अवैध रूपमा भन्सार छलीका सामानहरू लुकाई छिपाई ल्याई भण्डारण गर्न सकिने सम्भावित स्थान तथा सवारी साधनहरूमा यस किसिमको संयुक्त छापामारी आगामी दिनहरूमा पनि निरन्तर जारी राख्ने बताए। छापामारीमा सशस्त्र प्रहरीका नायँव उपरीक्षक बिश्वराज योन्जन र वीरगञ्ज भन्सार कार्यालय पर्साका नायँव सुब्बा बिष्णु प्रसाद चौधरीको समेत सहभागिता रहेको थियो।