वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी कर व्यवस्थापनमा अनियमितता र ठगीको आरोप लागेको छ। भारतीय मालवाहक गाडीहरूको लागि निर्धारित कर संकलन गर्ने जिम्मेवारी पाएको नोभा ट्रेडिङले लोड तथा खाली गाडीहरूबाट अवैध रूपमा अतिरिक्त कर संकलन गरिरहेको पाइएको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि नोभा ट्रेडिङलाई भारतीय मालवाहक गाडीहरूको कर संकलन गर्न टेन्डर दिइएको थियो। सम्झौताअनुसार, लोड भएका गाडीहरूबाट मात्र नेपाली रुपैयाँ २८२ संकलन गर्नुपर्नेमा नोभा ट्रेडिङले भारतीय रुपैयाँ २५० संकलन गरेको प्रमाण फेला परेको छ। साथै, खाली गाडीहरूलाई पनि जबर्जस्ती रोकी, भारतीय रुपैयाँ २५० संकलन गरिएको छ।
भारतीय सवारी चालक धर्मेन्द्र सिंहले परवानिपुरको कबाडी करको ढाटले रसिद नकाटी २ सय भारतीय रुपैयाँ लिएको र बहुअरी चौकमा रहेको ढाटले ३ सय भारतीय रुपैयाँ मागेको गुनासो गरेका छन्। उनले भने, “खाली गाडी रहे तापनि ३ सय भारतीय रुपैयाँ तिरेको छु।”
सवारी चालक मुन्ना गुप्ताले पनि लोड भएका गाडीहरूमा मात्र नेपाली रुपैयाँ लाग्ने भनाइको बाबजुद ठेकदारका मान्छेहरूले जबर्जस्ती भारु ५ सय संकलन गरेको बताएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुलीको टोलीले अनुगमनमा पुगेपछि पत्रकार सम्मेलन गरेका थिए। छतकुलीले भने, “लोड भएका गाडीहरूमा मात्र कर काटिनुपर्नेमा दुबै तिरबाट एकै दिनमा दुईवटा रसिद काटिएको र भारु ५ सय संकलन गरिएको छ।”
छतकुलीले थपे, “साहुले बाटो खर्च तोकेर दिएको भए तापनि ड्राइभरहरू बाध्य भएर आफ्नो खाना खर्चबाट कर तिरेका छन्।” यस विषयमा वीरगञ्ज भन्सार कार्यालयलाई जानकारी गराउँदा, नेपाल ईन्टरमोडल टीआरएस प्रा। लि। ले आईसीपीको बाटोमा ढाट राख्न नपाउने भन्दै पत्रचार गरेको जानकारी गराइएको छ। आईसीपीको बाटोमा ढाट राखिएको कारणले दुर्घटना बढ्दै गएको र भारतीय सवारीसाधनलाई धाक धम्की देखाई पैसा असुल्ने गरेको छ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय पर्सा र भारतीय महावाणिज्यदूतावासलाई ज्ञापन पत्र बुझाउने निर्णय गरिएको छ। सम्बन्धित निकायहरूले समयमै आवश्यक छानबिन नगरेमा दैनिक आईसीपीबाट नेपाल प्रवेश गर्ने ५ सय भारतीय मालवाहक सवारी साधनहरूले करको नाममा ठगी खेप्नुपर्ने पीडा रहेको छ। भारतीय मालवाहक सवारी साधनहरुलाइ ठेकेदारहरुले बाउन्सर प्रयोग गरि खुलम खुल्ला ठगी गरिरहदा पनि स्थानीय प्रहरी प्रशासनले चासो नदेखाउनु शंकाको विषय बनेको छ।